Logo

२१ जेठ, काठमाडौं । राजसंस्था र हिन्दुराज्यको पुनर्स्थापनाको माग राख्दै आन्दोलनरत ‘संयुक्त जनआन्दोलन समिति’ भित्रै किचलो देखिएको छ । मंगलबार नयाँ आन्दोलनका कार्यक्रम तय गर्न बोलाइएको समितिको बैठक कार्यकर्ताहरूको चर्को होहल्लापछि कुनै निर्णय नगरी स्थगित भएको छ ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा बोल्दै गर्दा कार्यकर्ताहरूले राप्रपाका अर्का अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिबारे प्रश्न उठाउँदै नाराबाजी सुरु गरेका थिए । स्रोतका अनुसार लिङ्देन सो समयमा संसद बैठकमा व्यस्त थिए ।

कमल थापालाई बोल्न नदिएर होहल्ला बढ्न थालेपछि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले बैठक तत्काल स्थगित भएको घोषणा गरे । उनले आन्दोलनका आगामी कार्यक्रमहरू पछि सार्वजनिक गरिने जानकारी दिए ।

एक हप्ता लामो पहिलो चरणको आन्दोलन सम्पन्न भएपछि दोस्रो चरणका कार्यक्रम तय गर्न सुवेदीले आज ४४ वटा राजनीतिक दल, समूह र अभियानका प्रतिनिधिहरूलाई बैठकमा बोलाएका थिए । तर, बैठकभित्रै चर्किएको आन्तरिक विवादले आन्दोलनको दिशामा अन्योल बढाएको छ । यो घटनाले राजसंस्था र हिन्दुराज्यको माग गर्ने शक्तिहरूबीचको आन्तरिक समीकरण र नेतृत्वको सवालमा थप बहस निम्त्याएको छ ।


सम्बन्धित समाचार