
२१ जेठ, वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जातीय भेदभाव र छुवाछुत राष्ट्रिय कलंक भएको बताएका छन् ।
वीरगञ्जको क्लासिक बैंक्वेटमा २० औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा आयोजित गोष्ठीमा बोल्दै बरिष्ठ उपाध्यक्ष पाण्डेले आफू बाहुन परिवारका एक सहभागीले आफू जातीय भेदभाव र छुवाछुतको विरोधी भएको बताउँदै जनै लगाएर पनि जातीय छुवाछुत नमान्ने र विद्रोहबिना यो जातीय समस्या अन्त्य नहुने धारणा राखे।
उनले गाउँघरमा अझै पनि सानो जातकाले पानी छोए पानी नचल्ने र यज्ञमा सहभागिता नदिने चलन रहेकोमा दुःख व्यक्त गरे। उनले जातीय छुवाछुत नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, म्यानमार जस्ता दक्षिण एशियाली देशमा रहेको र यसलाई अन्त्य गर्ने पहिलो दायित्व राज्य र सरकारको भएकोमा जोड दिए।
उनले सिंहदरबारबाटै यो जारी हुन जरुरी रहेको बताए। कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल नेवारले आफ्नो थर श्रेष्ठ नलेखी मात्र पुष्पलाल लेख्ने गरेको दृष्टान्त दिँदै उनले समाजबाट जातीय भेदभाव हटाउनका लागि एकमात्र उपाय सीप र शिक्षा भएकोमा जोड दिए।
राष्ट्रिय राजनीतिको सन्दर्भ जोड्दै बरिष्ठ उपाध्यक्ष पाण्डेले पूर्व राजा ज्ञानेन्द्रलाई आगामी ८४ को चुनावमा भाग लिएर दुई तिहाई बहुमत ल्याउन चुनौती दिए । कार्यक्रममा बोल्दै पाण्डेले भने, “अहिले देशमा खुब चर्चाको विषय बनेको हो राजावादीहरू ज्ञानेन्द्र राजाले आफ्नो पालामा राजनीति गर्नेलाई थुन्ने, एकलौटी शासन गर्ने थाले। अनि उनका लागि हामीले आन्दोलन गर्यौँ, सडक आन्दोलन भयो।
अन्तिममा त सेनाले पनि त्यो आन्दोलन थाम्न सकेनन्। राजालाई फालेका हौँ अनि राजतन्त्रको अन्त्य भयो घोषणा भयो। राजा ज्ञानेन्द्रलाई हिम्मत छ भने ८४ को चुनावमा आउनु, चुनाव लड्नु, संसदमा २ तिहाई ल्याउनु अनि निर्णय गर्नु।”
एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथिहरूमा गणेश बि।क।, रामचन्द्र साह, मनोज चौधरी, किशोरी कुशवाहा, दलित मुक्ति संगठनका सचिव वृजलाल पासवान, दलित अगुवा प्रभु हजारा, रामरुप राम, नीला राम, सुशील हजारा लगायतको उपस्थिति रहेको थियो ।