
२२ जेठ, काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन समिति गठन गर्ने कि नगर्ने भन्ने विवादले प्रतिनिधि सभा बन्धक भएको छ। सत्तारुढ दल नेपाली कांग्रेस र एमाले समिति गठनमा तयार नभएपछि विपक्षी दलहरूले सदन स्थगित गराउन बाध्य बनाएका छन् ।
केही दिनयता संसद् बैठक सूचना टाँस गरेर स्थगित भइरहेको छ। विपक्षी दलहरूले छानबिन समिति गठन नभएसम्म संसद्को कार्यसूची अघि बढ्न नदिने अडान राखेपछि बजेटमाथिको छलफल समेत प्रभावित भएको छ। यसले संसद्को समग्र कार्यतालिका नै विथोलिएको छ ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पनि सहमतिको अभावका कारण नबस्ने संकेत देखिएको छ। सभामुखले सहमति गराउने प्रयास गरिरहे पनि सत्तारुढ र विपक्षी दुवै पक्षले आफ्नो अडानबाट पछि हट्न अस्वीकार गरेका छन्।
विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएको र त्यसका साथै २०६४ सालपछिका अन्य गृहमन्त्री र विमानस्थलका कर्मचारीहरूमाथि समेत छानबिन गर्नुपर्ने अडान लिएका छन् ।
तर सत्तारुढ दल कांग्रेस र एमालेले यस विरोधमा समिति गठन गर्न तयार नभएको बताउँदै आएका छन् ।
जेठ ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलका प्रमुखमाथि छानबिन सुरु गरेको भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री लेखकमाथि नैतिक प्रश्न उठाएका थिए।
यस विवादका कारण जेठ १३ देखि प्रतिनिधि सभा अवरुद्ध भएको हो। बजेट पेश गर्ने १५ गतेको एकदिन बाहेक संसद् बैठक स्थगित भएको छ।
यसरी पक्ष र विपक्षको आपसी स्वार्थले संसद् सञ्चालनमा ठुलो असर परेको छ। विपद् जोखिम, विकास निर्माण र जनसरोकारका विषयमा सांसदहरूले आफ्नो आवाज उठाउन पाएका छैनन् भने यस अधिवेशनमा पारित गर्नुपर्ने विधेयकहरू पनि अलपत्र छन्।