Logo

२२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले संसद्को जारी गतिरोध अन्त्य गर्न अधिकतम सकारात्मक प्रयास गर्ने निर्णय गरेको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले सरकार र अन्य विपक्षी दलहरूसँग सिर्जनात्मक र रचनात्मक ढंगले छलफल गर्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्छ भन्ने माओवादीको प्रमुख माग रहेको छ। सरकारले छानबिनका लागि कस्तो वातावरण बनाउँछ, त्यसैअनुसार अघि बढ्ने उनले बताए।

“हामी जिम्मेवार प्रतिपक्ष भएकाले निकास निकाल्न हाम्रो तर्फबाट रचनात्मक हिसाबले अधिकतम जोड रहने छ,” बैठकपछि सापकोटाले भने, “निकास निकाल्न सिर्जनात्मक र रचनात्मक ढंगले लाग्नेछौं। सरकार र विपक्षी दलहरूसँग छलफल हुन्छ। मुख्य कुरा छानबिन हो, व्यक्ति विशेषमा हाम्रो त्यति धेरै ध्यान छैन।”

उनले आज पनि सरकार र अन्य विपक्षी दलहरूसँग कुराकानी गर्ने योजना रहेको बताउँदै, सकेसम्म छानबिनका लागि वातावरण बनाउनुपर्ने र सदनमा छलफलको वातावरण पनि हुनुपर्ने विषयमा छलफल भएको जानकारी दिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकसमेत मुछिएको भन्दै उनको राजीनामा माग गर्दै माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरुद्ध गर्दै आएका छन्। संसद्को गतिरोधका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन।

यसैबीच, प्रवक्ता सापकोटाले आफूविरुद्ध सर्वोच्च अदालतले दिएको उत्प्रेषण आदेशबारे अहिले नै टिप्पणी गर्ने बेला नभएको बताए। अदालतको पूर्णपाठ आएपछि पूर्ण अध्ययन गरेर मात्रै यसबारे बोल्न सकिने उनको भनाइ छ। सर्वोच्च अदालतले बुधबार द्वन्द्वकालीन घटनामा माओवादीका उपाध्यक्ष सापकोटाविरुद्ध परेको उजुरीमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको थियो।


सम्बन्धित समाचार