
२४ जेठ,वीरगञ्ज । पर्सागढी सहिद स्मृति प्रतिष्ठानको आयोजनामा आज पर्सागढी नगरपालिका वडा नम्बर २, कटानीस्थित श्री जनकधारी हंसवाहिनी आधारभूत विद्यालयमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नगरप्रमुख गोकर्ण पाठकले एक समारोहबीच रक्तदान कार्यक्रमको उद्घाटन गरेका थियो।
प्रतिष्ठानका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ५ महिलासहित ५५ जनाले रक्तदान गरेका छन्। रक्तदान कार्यक्रममा उपमेयर पूजा चौधरी, वडा नम्बर २ का अध्यक्ष वीरेन्द्र महतो थारु, प्रतिष्ठानका सल्लाहकार अमिताभ बच्चन दास, सदस्य रमेश मानन्धर, अञ्जु राना मगर लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
प्रतिष्ठानले सामाजिक कार्यमा आफ्नो सक्रियता देखाउँदै आएको छ र यो रक्तदान कार्यक्रम पनि सोही सन्दर्भको निरन्तरता भएको अध्यक्ष श्रेष्ठले बताए । रगतको अभावलाई पूरा गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।