२५ जेठ, भरतपुर । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका दुई हजार ३ सय ७३ मूल्य अभिवृद्धि कर (भ्याट) दातालाई छ महिनासम्म कर विवरण नबुझाएको भन्दै निलम्बन गरिएको छ । आन्तरिक राजस्व विभागले विवरण नबुझाउने करदाताको कारोबार रोक्का गर्दै उपभोक्तालाई ती करदातासँग खरिद-बिक्री नगर्न सूचित गरेको छ।
कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार यस कार्यालयमा दर्ता भएका करिब २ हजार ४ सय करदातामध्ये २०८२ वैशाख ११ गते सार्वजनिक सूचनापछि केवल २७ जनाले मात्र विवरण बुझाएका थिए। बाँकी २ हजार ३ सय ७३ करदातालाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम निलम्बन गरिएको हो ।

“नबुझ्नुको कारण जानकारीको अभाव नभई लापरवाही र कतिपयको कारोबार नहुनु हुन सक्छ,” पौडेलले भने, “तर कारोबार नभए पनि विवरण बुझाउनु कानुनी दायित्व हो।” उनका अनुसार करदाताले निलम्बन हटाउन चाहेको खण्डमा बाँकी सबै विवरण अद्यावधिक गर्नुपर्नेछ ।
जिल्लामा १० हजारभन्दा बढी भ्याट दाता छन् भने कुल करदाता संख्या ७२ हजारभन्दा बढी रहेको छ। राजस्व विभागले देशभरबाट ९५ हजार ३४९ करदाताको नामावली सार्वजनिक गर्दै निलम्बन गरेको हो ।
विभागले करप्रति जिम्मेवारी र सचेतना बढाउन करदातामाझ शिक्षा तथा अभिमुखीकरण कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।