Logo

२५ जेठ, काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोभिड-१९ को संक्रमण दर तीव्र रूपमा बढ्न थालेपछि नेपाल सरकारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँगको सीमा नाकामा निगरानी कडा बनाउँदै पूर्वतयारीका सबै आवश्यक काम पूरा भइसकेको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा देखिएको संक्रमणको असर १५ दिनभित्र नेपालमा देखिने विगतको अनुभवका आधारमा तयारी अघि बढाइएको हो। सञ्चारकर्मीसँग कुरा गर्दै डा. बुढाथोकीले, “भारतमा संक्रमण तीव्र बन्दै गएको पृष्ठभूमिमा हामी विगत दुई सातादेखि उच्च सतर्कताका साथ तयारीमा लागेका छौं,” भने।

मन्त्रालयका अनुसार भारतसँग जोडिएका १७ स्थल नाका र ३ हवाई नाकामा हेल्थ डेस्कमार्फत निगरानी बढाइएको छ। त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको छ। नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिको आरडिटी परीक्षण गरिँदैछ, र परिणाम जेसुकै आए पनि कम्तीमा एक सातासम्म घरमै आइसोलेसनमा बस्न सुझाव दिइएको छ।

कोभिडजस्तै लक्षण देखिएका व्यक्तिहरूलाई स्वेच्छिक आइसोलेसनमा बस्न र गम्भीर लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

डा. बुढाथोकीका अनुसार हाल नेपालमा कोभिड उपचारका लागि आवश्यक पूर्वाधार तथा जनशक्ति पर्याप्त छन्। उनले भने, “अहिले २५ वटा हव हस्पिटल र २ हजारभन्दा बढी सेटलाइट हस्पिटल तयारी अवस्थामा छन्। संक्रमण व्यापक भएमा पनि ९० हजारदेखि १ लाखसम्म संक्रमितलाई व्यवस्थापन गर्न सक्ने स्रोत-साधन तयार छ।”

त्यसैगरी, देशभरका ६ सयभन्दा बढी प्रयोगशालाबाट प्राप्त परीक्षण रिपोर्टहरूको समन्वय केन्द्र तथा प्रदेशस्तरबाट गरिने व्यवस्था मिलाइएको मन्त्रालयले जानकारी दिएको छ।

सरकारले नागरिकलाई संयमित, सचेत र जिम्मेवार भएर स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेको छ।


सम्बन्धित समाचार