
२५ जेठ, काठमाडौं । प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका लागि भएको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का नेताहरूबिचको छलफल विना निष्कर्ष सकिएको छ ।
छलफलमा आफूहरूको अडानमा कुनै सहमति नभएको माओवादी प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो । नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्र कार्की तथा माओवादीका तर्फबाट उपमहासचिवद्वय वर्षमान पुन र शक्तिबहादुर बस्नेत तथा प्रमुख सचेतक हितराज पाण्डेबीच छलफल भएको थियो । भिजिट भिसामा सेटिङको विषयमा छानबिन समिति बनाउने माओवादीले माग यथावत राखेको छ । तर, कांग्रेस समिति बनाउन सहमत भएन । कांग्रेस नेता कार्कीले भने सहमति नजुटेपनि बैठक सकारात्मक रहेको बताउनुभयो ।
संसद्को गतिरोध हटाउने विषयमा शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबिच छलफल भएको थियो । छलफलमा पनि दुई पक्ष आ–आफ्ना अडानमा यथावत् रहेपछि सहमति हुन सकेको थिएन । त्यसअघि शुक्रबार माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसका नेताहरू खड्का, कार्की, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएको थियो ।
भिजिट भिसा प्रकरणमा माओवादी लगायत प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै आएका छन् । सत्तापक्षले भने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले समानान्तर रूपमा अर्को आयोग वा समिति बनाउन नहुने भन्दै प्रतिपक्षीहरूको माग इन्कार गर्दै आएको छ ।