Logo

२५ जेठ, काठमाडौं । नेपालको प्रतिनिधि सभाको बैठक आइतबार दोस्रो पटकका लागि साँझ साढे ५ बजेसम्मका लागि स्थगित भएको छ। दिउँसो १ बजेका लागि तय भएको बैठक सवा ३ बजे र त्यसपछि साँझ ५ः३० बजेका लागि सारिएको हो। यो आइतबार मात्रै होइन, जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक लगातार सरिरहेको छ, जसले गर्दा संसदको कार्यतालिका अस्तव्यस्त बनेको छ।

जेठ १३ गतेदेखि यता प्रतिनिधि सभाको बैठक ११ पटकसम्म स्थगित भइसकेको छ। १३ गते दुई पटक, १४ गते दुई पटक, २० गते एक पटक (२१ गतेलाई सारियो), २१ गते एक पटक, २२ गते दुई पटक, २३ गते एक पटक र आइतबार (२५ गते) दुई पटक गरी कुल ११ औं पटक बैठक सरेको हो।

संसद् सचिवालयले बैठक सरेको सूचना जारी गर्दा महासचिव पद्मप्रसाद पाण्डेयले प्रत्येक पटक ‘विशेष कारणले’ बैठक बस्न नसकेको उल्लेख गर्दै आएका छन्। पछिल्लो सूचनामा पनि ‘विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने’ भन्दै सम्माननीय सभामुखले बैठकको समय निर्धारण गरेको जनाइएको छ।

तर, संसद सचिवालयले जे जस्तो कारण दिए पनि प्रतिनिधि सभाको बैठक प्रभावित हुनुको मुख्य कारण ‘भिजिट भिसा प्रकरण’ रहेको स्रोतले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरण उजागर गरेपछि संसदमा यसले प्रवेश पाएको थियो।

सुरुमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै गृहमन्त्रीको राजीनामाको माग गरेका थिए। सत्तापक्ष गृहमन्त्रीको राजीनामा दिन तयार नभएपछि विपक्षी दलहरूले छानबिन समिति गठनको माग राखेका छन्। यसमा पनि सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा प्रतिनिधि सभाको बैठक सौहार्दपूर्ण वातावरणमा बस्न सकिरहेको छैन। यसको प्रत्यक्ष असर आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा परेको छ, जसले देशको महत्वपूर्ण आर्थिक कार्यतालिकालाई प्रभावित पारेको छ। संसद भवन परिसरमा उपस्थित सांसदहरु दिनभर टहलिने र बेलुकी घर फर्किने अवस्था सिर्जना भएको छ।


सम्बन्धित समाचार