
२६ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपाल उच्च जोखिममा परेको छ ।
भारतमा कोरोना भाइरसबाट पछिल्लो पटक ५८ जनाको मृत्यु भैसकेको अवस्थामा छिमेकी मुलुक नेपाल उच्च जोखिममा परेको हो । भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य विभागका अनुसार पछिल्लो ९ दिनमा ३ हजार ४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ । मे ३० सम्म सक्रिय संक्रमित २ हजार ७१० मात्र थियो भने मृत्यु हुनेको संख्या ७ रहेको थियो । हाल दैनिक ४०० नयाँ संक्रमित र औषतमा ५–६ जनाको मृत्यु हुने गरेको भारतीय अधिकारीहरुले बताएका छन् ।
केरलामा सबैभन्दा बढी संक्रमित फेला परेका छन् भने भारतमा चार नयाँ भेरियन्टहरू पत्ता लागेका छन् । नयाँ भेरियन्टहरू छिटो फैलिने र प्रतिरोधात्मक क्षमतालाई प्रभावित पार्ने देखिएको छ । तर, विज्ञहरूले चिन्ता नलिन र सावधानी भने अपनाउन आग्रह गरेका छन् ।
आईसीएमआर निर्देशक डा. राजीव बहलले दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका हुन् । बाँकी ठाउँहरूबाट नमूनाहरू सङ्कलन भैरहेको र नयाँ भेरियन्टहरू जाँच हुने क्रममा रहेको छ । भारतमा नयाँ संक्रमितहरु फेला परिरहेको बेला नेपाल पनि उच्च जोखिममा परेको छ । भारतबाट नेपाल आएका कतिपय मानिसहरुमा कोरोना पुष्टि भएको छ ।
बाँकी जोखिम कम गर्नका लागि सर्तकताको पूर्व तयारी अपनाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा.प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तीव्र रूपमा फैलिएको सङ्क्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्व तयारी भइरहेको जानकारी दिनुभयो ।