Logo

२७ जेठ,काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशन अन्तर्गत आज (मंगलबार) बाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ। आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि समूहगत छलफल गरी पारित गरिएपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको हो।

महाधिवेशनको अध्यक्ष मण्डलका सदस्य तथा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार, आज बिहान बन्दसत्रको बैठक सुरु भएसँगै निर्वाचन प्रक्रिया अघि बढाइने छ।

अधिवेशनको हलले यसअघि नै १५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ।

यस महाधिवेशनबाट यसअघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ। नीति तथा अनुगमन आयोग अनेरास्ववियुको संरचनामा नयाँ थप भएको हो। यी आयोगहरू पदाधिकारीसहित १३ सदस्सीय हुनेछन्, जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी रहने व्यवस्था गरिएको छ।

अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ। सचिवालय सदस्यहरू पनि हलले नै चुन्नेछन्। केन्द्रीय सदस्यहरू भने प्रदेश क्लस्टरबाट चुनिनेछन्।

नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएसँगै अनेरास्ववियुको आगामी दिशा निर्धारण हुने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार