Logo

२७ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबका अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच सोमबार जेनेभामा भएको भेटवार्तामा नेपाली श्रमिक आपूर्तिसम्बन्धी महत्वपूर्ण सहमति जुटेको छ।

मन्त्री भण्डारीका अनुसार, साउदी अरब घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर तत्काल सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी दुईवटा सम्झौता गर्न तयार भएको छ। नेपालले सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा यसअघि नै सहमति जनाइसकेको थियो।

यो बैठकले सहमति भइसकेको सामान्य श्रमिक सम्झौतालाई अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने टुंगो लगाएको छ। श्रममन्त्री भण्डारीले साउदी पक्षलाई नेपालको संसदीय समितिको निर्देशनबारे जानकारी गराउँदै घरेलु श्रमिकको सम्झौताका लागि पाइलट परियोजना आवश्यक पर्ने बताएका छन्।

यस सहमतिले साउदी अरेबियासँग सामान्य श्रम सम्झौता र सीप प्रमाणीकरण कार्यक्रममा हस्ताक्षर गर्ने बाटो खुलेको छ। साउदीले पठाएको सामान्य सम्झौताको मस्यौदामा अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रमिकको अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, र श्रमिकको न्यायोचित भर्ना गर्ने विषयहरू समावेश गरिएको मन्त्री भण्डारीले जानकारी दिए।


सम्बन्धित समाचार