
२८ जेठ, काठमाडौँ । बढ्दो गर्मी र वर्षाको मौसमसँगै देशभर डेङ्गु सङ्क्रमण तीव्र रूपमा फैलिन थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म ७२ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ भने हालसम्म १ हजार २ सय ८१ जनामा सङ्क्रमण देखिएको छ।
महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार सबैभन्दा बढी सङ्क्रमण काठमाडौँमा देखिएको छ जहाँ १३६ जना संक्रमित भएका छन् । प्रदेशगत हिसाबले सबैभन्दा धेरै सङ्क्रमण बागमती प्रदेशमा ३४३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम १७ जनामा सङ्क्रमण देखिएको छ। जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौँमा १३६ जनालाई पुष्टि भएको छ । यस्तै, कास्की ९२, सुनसरी ८७, झापा ७६, पाल्पा ७६, रुपन्देही ४९, कञ्चनपुर ३७, दाङ ३२ र भक्तपुरमा ३० जनामा डेङ्गु पुष्टि भएको छ ।
डा. झाले भने, “डेङ्गु फैलिन नदिन घरघरमा सरसफाइ गर्न अत्यावश्यक छ। लामखुट्टेको लार्भा नष्ट गर्ने ‘खोज तथा नष्ट गर’ कार्यक्रम पनि सञ्चालन भइरहेको छ।” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै तहका स्थानीय निकायलाई डेङ्गु नियन्त्रणमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै प्रत्येक घरबाट लामखुट्टेको प्रजनन स्थल हटाउनुपर्ने बताए।
डेङ्गु संक्रमितमा उच्च ज्वरो, टाउको दुख्ने, मांसपेशी दुख्ने, रक्तस्राव हुने र शरीरमा रगत जम्ने जस्ता गम्भीर लक्षण देखिन सक्छन्। डा. झाले सर्वसाधारणलाई लामखुट्टेको टोकाइबाट बच्न दिउँसो बाहुला भएको लुगा लगाउन, झुल प्रयोग गर्न, र पानी जम्ने स्थान सफा राख्न विशेष सचेतना अपनाउन अनुरोध गरेका छन् ।
सरकारले डेङ्गु नियन्त्रणका लागि स्थानीय तहमा ८ करोड रुपैयाँ बजेट विनियोजन गरी सचेतना कार्यक्रम, लामखुट्टेको नियन्त्रण र निगरानीमा जोड दिएको छ । डा. झाले आगामी कात्तिकसम्म डेङ्गुको सङ्क्रमण फैलन सक्ने भएकाले सबैले व्यक्तिगत सरसफाइ र दीगो निगरानीमा ध्यान दिनुपर्ने बताए ।
यो वर्ष डेङ्गु सङ्क्रमण गत वर्षको तुलनामा कम भए पनि सावधानी अपनाउनुपर्ने अवस्थालाई भने अझै नजरअन्दाज गर्न नमिल्ने स्वास्थ्य अधिकारीहरूको चेतावनी छ ।