
२८ जेठ, काठमाडौं । विपक्षी दलहरूले सत्ता पक्षसमक्ष प्रस्ताव गरेको ड्राफ्टमा सहमति नभएसम्म संसद्को अवरोध जारी राख्ने अडान कायमै राखेका छन् ।
सोमबार विपक्षीले राखेका मागमा सत्तापक्षले अहिलेसम्म कुनै जवाफ नदिएकाले आजको बैठक पनि नचल्ने अवस्था आएको हो । सोमबार विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा अख्तियार अनुसन्धान आयोगले थालेको छानबिनलाई सहयोग गर्ने गरी २०६४ सालदेखि अहिलेसम्म भएका गतिविधिबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको थियो ।
तर, सत्तापक्षले आज कुनै जवाफ नदिएकाले आजको बैठक पनि चल्न नदिने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताएका छन् । यद्यपि समस्याको समाधानका लागि विपक्षी दलहरूबिच छलफल भइरहेको उनले भनाई छ । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव विपक्षी दलहरुले सत्तापक्षसँग राखेका छन् ।