
२८ जेठ,जेनेभा। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मलेसियासँगको श्रम क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउँदै दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन मित्रतामा परिणत गर्ने विश्वास व्यक्त गरेका छन्।
जेनेभामा मलेसियाका मानव संशाधन मन्त्री स्टीभन सिम ची किओङसँग भएको द्विपक्षीय भेटवार्तामा मन्त्री भण्डारीले नेपाली श्रमिकहरूलाई रोजगारीको अवसर दिएकोमा मलेसिया सरकारप्रति आभार प्रकट गरे। उनले मलेसियामा कार्यरत ठूलो संख्यामा नेपाली कामदारहरूले दुवै देशको आर्थिक समृद्धिमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै जनस्तरमा भएको सम्बन्ध र समझदारीले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाएको बताए।
नयाँ श्रम सम्झौता र श्रमिकका मुद्दा
भेटवार्ताका क्रममा मन्त्री भण्डारीले सन् २०१९ अक्टोबर २९ मा हस्ताक्षर गरिएको भर्ना, रोजगारी र पुनः प्रेषणसम्बन्धी सम्झौता २०२३ अक्टोबरमा समाप्त भइसकेको कुरा स्मरण गराउँदै मलेसिया सरकारले नयाँ सम्झौतालाई शीघ्र अन्तिम रूप दिनेमा नेपाली पक्ष आशावादी रहेको बताए। उनले दुवै देशका सम्बन्धित मन्त्रालयहरूले नयाँ सम्झौताको प्रारम्भिक मस्यौदा आदानप्रदान गरिसकेको र मलेसियाली मानव संशाधन मन्त्रालयद्वारा नयाँ मस्यौदाको अध्ययन भइरहेको जानकारी गराए।
मन्त्री भण्डारीले मलेसियामा नेपाली श्रमिकहरूले भोग्दै आएका विभिन्न समस्याहरूमाथि मलेसियाका मानव संशाधन मन्त्री किओङको गम्भीर ध्यानाकर्षण गराए। उनले न्यूनतम तलब कार्यान्वयन नहुनु, विशेषगरी सुरक्षा क्षेत्रमा १२ घण्टा दैनिक काम र महिनाभरि बिदा नदिने प्रचलन, करार अवधि समाप्त भएपछि फर्काउने व्यवस्था नगर्नु, फर्किने टिकट उपलब्ध नगराउनु, वर्क परमिट नवीकरण ढिला हुनु, समयमै नवीकरण नगर्दा कामदार अवैध बन्ने खतरा, तलब नगदमा दिनु, बैंक खाता खोल्न सहयोग नगर्नु, पारदर्शिता र सुरक्षाको अभावका साथै ओभरटाइमको सही हिसाब नगर्नु, तलब ढिलो वा रोकिनु, कामदारहरूलाई अत्यधिक कामको चाप र विश्रामको अभाव जस्ता समस्याहरू समाधानका लागि आग्रह गरे।
साथै, अवैध कामदार राख्ने र बिरामीमा सहयोग नगर्नु, न्यूनतम आवास सुविधा नदिनु, भिसा, टिकट, जबरजस्ती बचत भन्दै तलब कटौती गर्नु, पासपोर्ट र कागजात रोक्ने काम गर्नु, सामाजिक सुरक्षा संगठन अनुसार योगदान नदिनु, दाबी नगर्नु, ओमेगा अनफिट कामदार फर्काउने खर्च नबेहोर्ने, कामदाताद्वारा करार अवधिभन्दा पहिला निकालेमा क्षतिपूर्ति नदिनु लगायतका अन्य समस्याहरूमाथि मन्त्री भण्डारीले बुँदागत रूपमा समाधानका लागि अनुरोध गरे।
सामाजिक सुरक्षा र न्यूनतम तलबको प्रशंसा
मन्त्री भण्डारीले मलेसियाको सामाजिक सुरक्षा संगठनले लागू गरेको नयाँ २४ घण्टे सुरक्षा योजनाको सराहना गर्दै यस योजनाले श्रमिकहरूको काम बाहेकको समयमा पनि मृत्यु, दुर्घटना, र अन्त्येष्टि खर्चको व्यवस्था हुने कार्यको उच्च प्रशंसा गरे। उनले विदेशी श्रमिकहरूका लागि १७ सय मलेसियन रिंगेट न्यूनतम तलबलाई कार्यान्वयन गरेकोमा मलेसिया सरकारप्रति कृतज्ञता व्यक्त गरे।
सन् २०२४ डिसेम्बर ३१ सम्म मलेसियामा करिब ३ लाख ७० हजार नेपाली श्रमिकहरू कार्यरत रहेको तथ्यांक छ।