Logo

१ असार, वीरगञ्ज । मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका ६ जनामध्ये तीन जना मजदुरको ज्यान गएको छ । पाँचथरको फिदीम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज हिजो बेलुका खसेको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार बेलिब्रिज खस्दा घाइते भएकामध्ये बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको ज्यान गएको हो । दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठाइएको थियो ।

डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । फिदिमतर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो । बेलिब्रिज खस्दा छ जना घाइते भएका थिए । थप दुई जना मजदूरको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ का २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरीको विराटनगरमा उपचार भइहेको छ । मेची राजमार्गअन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि त्यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो ।

बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले बगाएपछि दोस्रो पटक पुनः बेलिब्रिज हाल्न सङ्घीय सरकारले सडक डिभिजन इलाममार्फत प्रक्रिया अगाडि बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।

पुल बगेपछि गाडी आवतजावत समेत बन्द भएको प्रहरीले जनाएको छ । बेलिब्रिज खसेसँगै वर्षायाममा पुनः मेची राजमार्ग भएर पाँचथर सदरमुकाम फिदिमदेखि ताप्लेजुङसँगै पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ सडक सम्पर्क विच्छेदबाट हुने जोखिम छ । सत्तरी मिटर लामो बेलिब्रिजलाई प्राविधिकले (मोडुलर ब्रिज) भन्दै आएका छन् ।


सम्बन्धित समाचार