
१ असार, हेटौंडा – बागमती प्रदेश सरकारमा आगामी आर्थिक वर्षको बजेटको आकारलाई लिएर सत्ता साझेदार दलहरूबीच गम्भीर विवाद उत्पन्न भएको छ ।
विवादका कारण आज दिउँसो ३ बजे प्रस्तुत हुने भनिएको बजेटको समय साँझ ७ बजेका लागि सारिएको छ । यो विवादले आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र अर्थ मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली सम्पर्कविहीन भएको नेताहरूले आरोप लगाएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटको आकार ६८ अर्ब रुपैयाँभन्दा बढी नबनाउने भन्ने एक किसिमको भद्र सहमति भएको थियो ।
तर, केही प्रभावशाली मन्त्रीहरूको चर्को दबाबका कारण बजेटलाई ७२ अर्ब रुपैयाँ सम्म पु¥याउने तयारी भएपछि विवादले उग्र रूप लिएको हो । मन्त्री काफ्ले र सचिव मैनालीलाई कार्यकक्षमै गएर बजेटको आकार बढाउन तीव्र दबाब दिइएको थियो ।
मन्त्री र सचिवको खोजी हुँदै
मन्त्री निकट स्रोतका अनुसार, मन्त्री काफ्ले र सचिव मैनाली दुवैजनाको खोजी भइरहेको छ र उनीहरू क्वार्टरमा पनि भेटिएका छैनन् । मन्त्री काफ्ले र सचिव मैनाली दुवैको फोन बन्द पाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता उपसचिव श्रीकृष्ण आचार्यले पनि फोन उठाएनन्, जसले गर्दा थप रहस्य बढेको छ ।
एमालेको अडान यथावतः
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले कांग्रेससँग ६८ अर्ब रुपैयाँभन्दा बढी बजेट नबनाउने सहमति भएको स्पष्ट पारेका छन् । एमालेबाट सरकारको नेतृत्व गरेका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले पनि ६८ अर्ब रुपैयाँभन्दा बढी बजेट बनाउन नपाइनेमा आफ्नो अडान दोहो¥याएका छन् । आर्थिक मामिला मन्त्रालयले आज बिहान ५ बजेसम्म लगाएर बजेट बनाएको मन्त्रालय स्रोतले जनाएको छ ।