
१ असार, सुर्खेत । कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारीमा विवाद उत्पन्न भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०ले बजेटको आधार मानिएको ‘योजना बैंक’ अपारदर्शी र एकलौटी भएको भन्दै प्रदेशसभा बैठकमा सहभागी नहुने घोषणा गरेपछि आज दिउँसो ३ बजे बस्ने भनिएको प्रदेशसभा बैठक अनिश्चित बनेको छ।
माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सरकारले आफूखुसी बजेट ल्याउन लागेको आरोप लगाएका छन्। उनले रातोपाटीसँग कुरा गर्दै भने, “सरकारले ‘आयोजना बैंक’ का नाममा अपारदर्शी र एकलौटी ढङ्गले बजेट निर्माण प्रक्रिया अघि बढाएको छ। बजेटको आधार मानिएको आयोजना बैंक अहिलेसम्म सार्वजनिक गरिएको छैन, र त्यसमा के–कस्ता योजना छन् भन्नेबारे कसैलाई जानकारी छैन।” उनले आयोजना बैंक सार्वजनिक हुनुपर्ने विषय भएको र कुनै पत्रकारहरूले पनि यसलाई नदेखेको बताए।
प्रमुख सचेतक जिसीले बजेट निर्माण प्रक्रियालाई ‘अवैध र चोर बाटो’ को संज्ञा दिँदै सरकारले आग्रह–पूर्वाग्रहपूर्ण तरिकाले आफ्ना योजना मात्र समावेश गरेको आरोप लगाए। जिल्लास्तरीय समितिले सिफारिस गरेका र मन्त्रालयसम्म पुगेका योजनालाई समेत बेवास्ता गरिएको उनको भनाइ छ। सदनमा यसबारे कुरा उठ्दा समेत सरकारले प्रक्रियामा सामेल गर्ने प्रतिबद्धता जनाए पनि पछि त्यसमाथि प्रतिबन्ध लगाएको उनले आरोप लगाए।
यही विवादका कारण कार्य व्यवस्था परामर्श समितिको बैठक समेत अवरुद्ध भएको र आफूहरू बैठकबाट बाहिरिएको जिसीले जानकारी दिए। उनले भने, “यस्तो अपारदर्शी र विवादित पृष्ठभूमिमा तयार भएको बजेटमा हाम्रो स्वामित्व रहँदैन र यसलाई सदनमा पेस गर्न दिइने छैन।”
यता, बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री राजीवविक्रम शाह भने प्रदेशसभामा पुगिसकेका छन्। तर, माओवादीको बहिस्कारका कारण बैठक अनिश्चित बनेको छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौड्यालले पनि बैठक बस्न नसकेको पुष्टि गर्दै ूकेही कुरा नमिलेको जस्तो छ, केही समय लाग्छू भनेका छन्।