Logo

१ असार,वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले यही असार १६ गतेदेखि जग्गाको निस्सा प्राप्त गर्ने भएका छन् । आइतबार गाउँपालिका कार्यालयमा भूमि समस्या समाधान आयोग पर्सा र गाउँपालिकाका जनप्रतिनिधिबीच भएको छलफलबाट उक्त निर्णय गरिएको हो ।

गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा बसेको बैठकले आयोगसँग सहकार्य गर्दै भूमिहीनहरूको व्यवस्थापन यथाशीघ्र गर्ने निर्णय गरेको छ । बैठकमा गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाले आयोगको काममा पूर्ण प्रतिबद्धताका साथ सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो केवल जग्गाको मात्र विषय होइन, सामाजिक न्यायको ऐतिहासिक कार्य हो।”

भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदका अनुसार सखुवाप्रसौनी गाउँपालिकामा हालसम्म ६५५ जनाले निवेदन दर्ता गरेका छन् । तीमध्ये १४० जना भूमिहीन दलित, ३४१ जना भूमिहीन सुकुम्बासी र १७४ जना अव्यवस्थित बसोबासी रहेका छन् । अध्यक्ष अहमदले निस्सा वितरणपछि जग्गा वितरणको कार्यसमेत तीव्र गतिमा अघि बढाइने जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतो, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा आयोगका सदस्यहरूको समेत उपस्थिति रहेको थियो । यो निर्णयले गाउँपालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार