
१ असार,वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई अन्ततः अन्तिम रूप दिँदै मन्त्रिपरिषद्बाट पारित गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसोदेखि जारी बैठकले बजेटलाई अनुमोदन गरेसँगै अब प्रदेश सभामा प्रस्तुत गर्ने बाटो खुलेको छ ।
मुख्यमन्त्री सतिश सिंहले जानकारी दिएअनुसार, संवैधानिक प्रावधान अनुसार सदनमा बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट पारित हुनुपर्ने भएकाले यो बैठक महत्त्वपूर्ण रहेको थियो । यस वर्ष प्रदेश सरकारको बजेटको आकार बढ्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । स्रोतका अनुसार, मधेश सरकारले करिब २ अर्ब रुपैयाँ बजेट थप गरेर करिब ४७ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
बजेट मन्त्रिपरिषद्बाट पारित भइसकेकाले अब सरकारले प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । यद्यपि, आज अपरान्ह ४ बजेदेखि नै प्रदेश सभाको बैठकको कार्यसूची रहे पनि, मन्त्रिपरिषद्को बैठक लम्बिएका कारण बजेट भाषण सुरु हुन भने केही ढिलाइ भएको छ । सांसदहरू बजेट प्रस्तुतिको व्यग्र प्रतीक्षामा छन् ।