Logo

२ असार, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा प्रतिष्ठित व्यक्ति तथा संस्थाहरूमाथि तथ्यहीन र अपमानजनक सामग्री प्रसारण गरेको आरोपमा रमा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीको टोलीले उनलाई भक्तपुरबाट आइतबार पक्राउ गरेको हो । साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीका अनुसार बस्नेतले टिकटकमार्फत समाजमा भ्रम फैलाउने खालका सामग्री प्रस्तुत गर्दै आएकी थिइन् ।

उनको स्थायी घर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मा रहेको र हाल उनी काठमाडौं उपत्यकामा बसोबास गर्दै आएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा उनका तीनदेखि चारवटा टिकटक आईडी सक्रिय रहेको पाइएको छ।

बस्नेतलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर साइबर अपराध अन्तर्गत अनुसन्धान अगाडि बढाइएको साइबर ब्यूरोले जनाएको छ। प्रहरीका अनुसार उनले सामाजिक सञ्जालको दुरुपयोग गरी डिजिटल माध्यमबाट भ्रम फैलाउने कार्य गर्दै आएकी थिइन्।

साइबर ब्यूरोले सामाजिक सञ्जालको प्रयोग गर्दा कानुनी मर्यादा र जिम्मेवारीको पालना गर्न सबैलाई आग्रह गरेको छ।


सम्बन्धित समाचार