Logo

७ असार,सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोल मा बाटो विस्तार गर्ने क्रममा शनिबार बिहान दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार, झडप नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर समेत गरेको थियो। झडपमा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेश घाइते भएका छन्।

प्रहरी निरीक्षक गणेश झडप नियन्त्रणमा लिने क्रममा घाइते भएका थिए भने अन्य दुई सर्वसाधारण आपसमा झडप हुँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरी अस्पताल लैजाने काम भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक सिंहले बताए।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो संख्यामा टोली तैनाथ गरिएको छ। झडप नियन्त्रणमा आइसकेको र अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गत बिहीबारदेखि खैराटोलमा सडक विस्तार गरी ढलान गर्ने क्रममा विवाद उत्पन्न भएको बताइएको छ। त्यस दिन केही महिला र पुरुषले एक महिलालाई लछारपछार पारेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। सोही विवादका कारण दुई पक्षबीच झडप भएको अनुमान गरिएको छ।


सम्बन्धित समाचार