
७ असार,चितवन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१७ पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा बारबिक्यू गर्ने क्रममा अचानक आगो सल्किँदा जलेकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। यो घटना अघिल्लो शुक्रबार भएको थियो।
पूर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी यादव ढकाल ले दिएको जानकारी अनुसार, कावासोती नगरपालिका–८ निवासी प्रदीपकुमार भट्टराई परिवारका सदस्य र साथीभाइसहित रिसोर्टमा रमाइलो गर्न गएका बेला यो दुर्घटना भएको हो। प्रदीपकी ६ वर्षकी छोरी अन्नी भट्टराईको बिहीबार राति कीर्तिपुरस्थित बर्न हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो।
घाइते भई सोही अस्पतालमा उपचार गराइरहेका प्रदीप भट्टराईले रिसोर्टमा बारबिक्यू गर्दा रिसोर्टका एक स्टाफले पेट्रोल हालिदिएकाले आगो दन्किएर आफूहरू जलेको बताएका छन्।
सो घटनामा ४४ वर्षीय प्रदीप भट्टराई, उनकी ४१ वर्षीया श्रीमती मीना पौडेल, प्रदीपले सञ्चालन गरेको ‘द नेक्स्ट कन्सल्टेन्सी’मा कार्यरत कर्मचारीहरू २६ वर्षका असिम राना र २४ वर्षीय अनुप गुरुङ घाइते भएका छन्। प्रदीप स्थानीय मध्यविन्दु कलेजमा पढाउने पनि गर्दछन्। उनका थप दुई जना साथी र उनका छोरा घटना हुँदा नजिक नरहेका कारण जल्नबाट जोगिएका छन्।
रिसोर्टका म्यानेजर सागर पराजुलीले शुक्रबार राति साढे ९ बजे घटना भएको बताए। उनले घटना कसरी भयो भन्नेबारेमा आफूहरू पनि अचम्मित भएको सुनाए। “प्रदीप सर मेरो पनि साथी हो, झन्डै एक वर्षपछि आउनुभएको हो रिसोर्टमा। उहाँहरूलाई आउनुस् भनेर बोलाएको पनि हो। म त होटलको म्यानेजर भएसँगै उहाँहरूसँगै बसेर खाने कुरा भएन, उहाँहरू रमाइरहनुभएको थियो, तर अचानक यस्तो घटना भयो,“ म्यानेजर सागरले भने, “उहाँहरू आफैंले दिउँसोबाट नै बारबिक्यू गर्ने भनेर गर्नुभएको हो, हाम्रो स्टाफले कोइला थपिदिनेबित्तिकै ह्वात्तै आगो बल्यो।“ उनले होटल म्यानेजमेन्टसम्बन्धी ज्ञान रहेको भन्दै प्रदीपले आफैंले बारबिक्यू गरेको र आफूहरूले सर्पोट मात्रै गरेको दाबी गरे।
सागरले घटनापछि घाइतेहरूलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौं रेफर गरिएको बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकालले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए। पीडितले भनेजस्तै पेट्रोल हालिएको हो वा होइन भन्नेबारेमा अनुसन्धान भइरहेको उनले बताए। उनले होटलका कर्मचारीहरूसँग घटनाका बारेमा सोधपुछ गरिएको र घाइतेहरू केही निको भएपछि थप बुझ्ने काम हुने जानकारी दिए।