Logo

१२ असार, काठमाडौं । बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने तय भएको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ। संसद सचिवालयले विशेष कारण जनाए पनि बजेट विनियोजनमा सत्तापक्षकै सांसदहरूको चर्को विरोधका कारण बैठक सरेको स्रोतले बताएको छ।

कांग्रेस सांसदहरूको तीव्र असन्तुष्टि

बुधबार साँझ बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरूले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका थिए। उनीहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गर्दै आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको आरोप लगाएका छन्।

कांग्रेस सांसदहरूले बजेट निर्माणमा बिचौलिया हाबी भएको र उनीहरूको स्वार्थअनुसार बजेट विनियोजन भएको दाबी गरेका छन्।

गण्डकीमा बागमतीको बजेट र नक्कली वडाको विवाद

बजेटमा देखिएका मुख्य विवादका विषयहरूमध्ये गण्डकी प्रदेशको पूर्वी नवलपरासीस्थित कावासोती नगरपालिका–२ मा रहेको शिव मावि परिसरमा पूर्वाधार निर्माणका लागि बागमती प्रदेशको बजेट विनियोजन गरिएको विषय प्रमुख छ। कुनै एक प्रदेशको बजेट अर्को प्रदेशमा विनियोजन गरिनु नियमविपरीत मानिन्छ।

त्यसैगरी, हेटौंडा उपमहानगरपालिकामा १९ वटा मात्र वडा हुँदाहुँदै वडा नम्बर २० र २२ उल्लेख गरेर बजेट विनियोजन गरिएकोमा पनि सांसदहरूले विरोध जनाएका छन्। यी विषयहरूले बजेटको पारदर्शिता र विधिमाथि गम्भीर प्रश्न उठाएका छन्।


सम्बन्धित समाचार