
१२ असार, काठमाडौं । पाल्पामा रहेको ऐतिहासिक रानीमहललाई पुरानै स्वरूपमा फर्काएर संरक्षण गरिने भएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा भएको सरोकारवालाहरूको बैठकले यो निर्णय गरेको हो। खड्ग शम्शेरले निर्माण गरेको रानीमहललाई मौलिक स्वरूपमा ल्याउनका लागि गुरुयोजना बनाएर काम अघि बढाउने सहमति भएको छ।
संरक्षणका लागि विस्तृत योजना
उपप्रधानमन्त्री पौडेलले रानीमहललाई दुर्लभ र महत्त्वपूर्ण सम्पदा भन्दै यसको पुरानो शैली र आकारसँग सम्बन्धित सामग्रीहरू संकलन गर्न, विस्तृत गुरुयोजना बनाउन र सोहीअनुसार कार्यान्वयन विधि तयार पार्न पुरातत्व विभागलाई निर्देशन दिएका छन्। उनले ऐतिहासिक र पुरातात्विक महत्त्वलाई ध्यान दिँदै नदी कटान र पहिरो व्यवस्थापन लगायतका कार्यहरू अघि बढाउन जोड दिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले रानीमहल र त्यस वरपरका क्षेत्रलाई दीर्घकालीन व्यवस्थित योजनाका साथ संरक्षण गर्नुपर्नेमा जोड दिए। सांसद ठाकुर गैरेले कालीगण्डकी नदीले रानीमहलको जग कटान गर्नबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताए भने सांसद नारायण आचार्यले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।
स्रोत र समन्वयमा जोड
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले रानीमहल संरक्षणका लागि सबै क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए। पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले विभागले रानीमहलको पुरातात्विक र ऐतिहासिक महत्त्व जोगाएर पुनर्निर्माण गर्न सक्ने बताए।
अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले रानीमहल संरक्षणका लागि स्रोत अभाव नहुने जानकारी दिएका छन्। कालीगण्डकी करिडोरका परियोजना प्रबन्धक कल्पना अधिकारीले प्रारम्भिक अध्ययनले रानीमहललाई रेट्रोफिटिङ, नदी कटानबाट जोगाउने, पहिरो व्यवस्थापन, पुल निर्माण, पार्किङ क्षेत्र व्यवस्थापन लगायतका काम आवश्यक रहेको देखाएको जानकारी दिइन्। राणाकालीन समयमा खड्ग शम्शेरले आफ्नी रानी तेजकुमारी देवीको स्मृतिमा यो भव्य महल निर्माण गरेका थिए।