
१३ असार , काठमाडौं । नेपाली क्रिकेटमा नयाँ इतिहास रच्दै, नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित इन्डोर प्रिमियर लिग क्रिकेट आयोजना हुने भएको छ। काठमाण्डौ स्पोर्ट्स इभेन्ट्स प्रालिको आयोजनामा लिग आगामी भदौ २३ देखि २८ गतेसम्म राजधानीको बुढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा आयोजना हुने आयोजकहरूले जानकारी दिएका छन् ।
प्रतियोगिता निर्देशक ज्योति भण्डारीका अनुसार, यो लिग १० ओभरको हुनेछ, जसमा १० वटा फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलिनेछ, जसअनुसार सबै टोलीले एकअर्कासँग एकपटक खेल्नेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनल चरणमा प्रवेश गर्नेछन् ।
आयोजकले इन्डोर क्रिकेटमा हालसम्मकै सर्वाधिक पुरस्कार राशीको व्यवस्था गरिने जानकारी दिएको छ, जसको औपचारिक घोषणा केही दिनमा गरिनेछ। यसले खेलाडीहरू तथा दर्शकमाझ थप उत्साह जगाउने अपेक्षा गरिएको छ ।
प्राविधिक निर्देशक रवीन्द्र गुप्ताका अनुसार, प्रतियोगिताका लागि टिम खरिद र खेलाडीहरूको अक्सन प्रक्रिया हुनेछ । खेलाडीहरूलाई मार्की, ए, बी, र सी चार वर्गमा विभाजन गरिनेछ। विशेषगरी राष्ट्रिय टिम खेलाडीहरूलाई मार्की श्रेणीमा राखिनेछ ।
खेलाडीहरूले प्रतियोगितामा सहभागी हुन आफ्नो नाम दर्ता गराउन पाउनेछन्, जसका लागि प्रक्रिया चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
फ्रेन्चाइज इन्डोर प्रिमियर लिगको आगमनसँगै नेपाली क्रिकेटमा इनोभेसन र मनोरञ्जनको नयाँ ढोका खुलेको छ । इन्डोर क्रिकेटको यो आधुनिक स्वरूपले युवा खेलाडीहरूलाई नयाँ अवसर दिनुका साथै दर्शकहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेछ ।