
१३ असार, नुवाकोट । गएराति नुवाकोटको ककनी गाउँपालिका–१, भसिबुस्थित बिमचना खोलामा आएको बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार ३२ वर्षीया कमला बलामी बाढीमा परेर बेपत्ता भएकी हुन्। उनी आफ्ना पति अशोक बलामी सँगै गोठमा सुतिरहेकी थिइन्। बाढीले बगाएर गम्भीर घाइते भएका अशोक बलामीलाई उपचारका लागि काठमाडौँ पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
ठूलो वर्षाका कारण बिमचना खोलामा आएको बाढीले बलामी दम्पती सुतेको गोठसहित कुल तीनवटा गोठ बगाएको प्रहरीले जनाएको छ। बेपत्ता कमला बलामीको खोजी कार्य जारी रहेको डीएसपी थापाले बताए।