
१३ असार,वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक गहवामाई मन्दिर पुनर्निर्माण भएको १३ औं वर्ष पूरा भएको अवसरमा शुक्रबार भव्य गहवामाई रथयात्रा सम्पन्न भएको छ। यो यात्रा २०८० सालदेखि सुरु भएको र यस वर्ष तेस्रो पटक आयोजना गरिएको हो।
बिहान करिब ८ बजे गहवामाई मन्दिर प्रांगणबाट निकालिएको रथयात्रामा नेपालका पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुर लगायतका जिल्लाहरूबाट तथा छिमेकी मुलुक भारतबाट समेत गरी एक लाखभन्दा बढी हिन्दु भक्तजनहरू सहभागी भएका थिए। आयोजक गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलका अनुसार, यस वर्षको रथयात्रामा अनुमान गरिएभन्दा बढी भक्तजनहरूको सहभागिता देखिएको थियो।
काठबाट मात्रै बनाइएको रथमा २६ केजी चाँदीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर रथयात्रा अघि बढाइएको थियो। घण्टाघर चोक, रेल्वे रोड, अमर चोक, इदगाह चोक, छपकैया, वीर्ता, आदर्शनगर हुँदै पुनः मन्दिर प्रांगणमा पुगेर रथयात्रा समापन भएको थियो।
विभिन्न झाँकी, पञ्चेबाजा र भगवाधारी झण्डासहित निकालिएको रथयात्रामा ठाउँ ठाउँमा स्थानीय श्रद्धालुहरूले पुष्पवृष्टि गरी स्वागत गरेका थिए।
रथयात्रामा भारतको मध्यप्रदेश प्रान्तका मन्त्री रविकरण साहु, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतका उच्च पदस्थ व्यक्तित्वहरू पनि सहभागी भएका थिए।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले लगातार तीन वर्षदेखि आयोजना भइरहेको गहवामाई रथयात्रा अब परम्परा मात्र नभई वीरगन्जबासीको एउटा पर्वका रुपमा स्थापित भइसकेको बताए। उनले वीरगञ्जलाई धार्मिक पर्यटनको केन्द्र बनाउने महानगरपालिकाको अभियानलाई पनि यस रथयात्राले टेवा पु¥याएको उल्लेख गरे।
आयोजक समितिका सचिव पप्पु गुप्ताले वीरगञ्जमा विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको गहवामाई रथयात्रा मधेस प्रदेशकै एकमात्र धार्मिक रथयात्रा रहेको बताए। उनले यो अब वीरगञ्जबासीका लागि केवल रथयात्रा मात्र नभई एउटा उत्सव र पर्वका रूपमा स्थापित भएको बताए।
नेकपा एमाले पर्साका सचिव महेश दासले वीरगञ्जमा कुनै पनि धार्मिक उत्सवमा यति धेरै भक्तजनहरू सहभागी भएको यो पहिलो पटक भएको बताए। उनले यस भव्य आयोजनले वीरगञ्जको धार्मिक पर्यटनलाई टेवा पु¥याएको दाबी गरे।
रथयात्रामा सहभागीताका लागि वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरूमा सार्वजनिक विदा समेत दिएको थियो।