
१३ असार,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा आज कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सिम्रौनगढ नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको यस कार्यक्रममा किराबाट सर्ने रोगहरू जस्तै मलेरिया, डेंगु, कालाजार र टाइफस बारे विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रममा सहभागीहरूलाई यी रोगहरू कसरी लाग्छन्, यिनका लक्षणहरू के–के हुन् र उपचार विधिबारे जानकारी दिइएको थियो। नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वास्थ्य संयोजक विजयशंकर ठाकुरले सहजीकरण गर्नुभएको थियो।
अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारीका साथै स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।