Logo

१४ असार, काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा १४ प्रतिशतले वृद्धि हुनु सानो उपलब्धि नभएको बताउनुभएको छ। स्पेन भ्रमणबारे संसदलाई जानकारी गराउने कार्यक्रममा शनिबार बोल्दै उहाँले शुक्रबार प्रकाशित नतिजा उल्लेखनीय रहेको धारणा व्यक्त गर्नुभयो।

“हिजो एसईईको नतिजा प्रकाशित भएको छ। गत वर्षभन्दा १४ प्रतिशतले वृद्धि भएको छ। धेरै वर्षपछि एसईईको नतिजामा उल्लेख्य प्रगति भएको छ,“ प्रधानमन्त्री ओलीले भन्नुभयो, “उत्तीर्ण हुनेहरूलाई बधाई छ, उज्ज्वल भविष्यको शुभकामना। कतिले अंक थपेर नतिजा निकालियो भनेर हचुवा कुरा गरेका छन्। विद्यार्थीको मेहनतले यो सम्भव भएको हो। ४८ प्रतिशतबाट ६२ पुग्नु पछिल्ला केही वर्षयताको ठूलो सफलता हो।“

प्रधानमन्त्री ओलीले यस सफलताका लागि विद्यार्थी र शिक्षकको मेहनतको प्रशंसा गर्दै पढाइको वातावरण बनाउने अभिभावकलाई पनि धन्यवाद दिनुभयो। उहाँले यस सुखद अवस्थामा खुशी प्रकट गर्नुको सट्टा मेहनत गरेर उत्तीर्ण भएका विद्यार्थीलाई अपमान गरिएको भन्दै आपत्ति जनाउनुभयो।

भविष्यमा विद्यार्थीहरू अनुत्तीर्ण नै नहुने गरी पढाइको गुणस्तर बढाउने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्षबाट निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले मौका परीक्षा दिने विद्यार्थीका लागि भोलिबाटै अनलाइन सेवा सुरु हुने पनि बताउनुभयो।


सम्बन्धित समाचार