
१४ असार,ठोरी । शुक्रबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा ( एसईई ) २०८१ को नतिजामा ठोरी गाउँपालिकाको नतिजा चिन्ताजनक देखिएको छ । नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले सार्वजनिक गरेको नतिजा विवरण अनुसार ठोरीबाट २२९ जना विद्यार्थी सहभागी भएका मध्ये ४० जना मात्र उत्तीर्ण हुन सफल भएका छन्। समग्र देशमा नै ६१ प्रतिशत हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदा समग्र ठोरीमा भने करीब १७ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका हुन्। ठोरी गाउँपालिकाले कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गरेको भएपनि एसईई परीक्षाको नतिजा भने वर्षेनी निराशाजनक देखिएको छ ।
नतिजामा ज्ञानवाटिका मावि सुवर्णपुर सबैभन्दा अगाडि , ज्ञानज्योति मावि पुछारमा
ठोरीमा रहेका ६ ओटा सामुदायिक विद्यालय मध्ये यस वर्ष ज्ञान बाटिका मा.वि. सुबर्णपुर नतिजामा सबैभन्दा अगाडि देखिएको छ । कुल ३६ परीक्षार्थी मध्ये १४ जना परीक्षार्थी उत्तीर्ण गराई करीब ३८ उत्तीर्ण प्रतिशत नतिजा कायम गरेको सो विद्यालयले जनाएको छ । मावि विजयवस्तीले २९ प्रतिशत , नेरा मावि ओडारले २० प्रतिशत र सरस्वती मावि गौतमनगरले १४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको महासंग अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसैगरी कुल सहभागी मध्ये २/२ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भएका नेरा प्राविधिक मावि , दीपकनगर र ज्ञानज्योति मावि घ्याङडाँडाले क्रमशः करीब ७ प्रतिशत र ६ प्रतिशत हाराहारीको उत्तीर्ण प्रतिशत कायम गरेका छन्।
निशुल्क शिक्षाको व्यवस्था , स्वयमसेवक शिक्षक परिचालन , एक वर्षे इसिडी कक्षा थप जस्ता शिक्षा लक्षित विविध कार्यक्रम गर्दै वर्षेनी बजेट विनियोजन गरेपनि एसईईको नतिजा निराशाजनक देखिएको हो ।