
१५ असार, काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर बाढी र पहिरोको जोखिम बढेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित २९ जिल्लामा ‘एल्लो अलर्ट’ जारी गर्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले विशेषगरी पहाडी तथा चुरे क्षेत्रका बस्तीहरू र नदी किनारका बासिन्दालाई थप चनाखो रहन सुझाव दिएको छ। बाढीको जोखिम रहेका जिल्लाहरूमा ५ क्षेत्रमा विशेष ध्यान दिन महाशाखाले चेतावनी दिएको छ ।
सतर्कता अपनाउनुपर्ने मुख्य ५ क्षेत्र
पहाडी तथा चुरे क्षेत्रका भिरालो र पहिरो जान सक्ने बस्तीहरू
नदी किनार र खोला आसपासका घर तथा समुदाय
मुख्य राजमार्ग र सहायक सडकहरूमा यात्रा गर्दा
जलविद्युत् आयोजना र नदीमा निर्माणाधीन संरचनाहरू
कृषि भूमि र सिँचाइ प्रणाली
कुन–कुन जिल्लामा बढी जोखिम?
आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौँ, ललितपुर, भक्तपुरलगायतका जिल्लाहरूमा बहने साना नदीहरूको जलस्तर अचानक बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने मध्यम जोखिम रहेको छ।
यसैगरी, पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा, बझाङ लगायतका जिल्लाहरूमा पनि साना खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना देखिएको छ। यी सबै जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।
प्रमुख नदीहरू कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईलगायतका नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
फाइल तस्विरः