Logo

१५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको फैसलावििरुद्ध तत्काल सर्वोच्च अदालतमा पुनरावेदन गर्न माग गरेको छ।

रास्वपा सांसद सुमना श्रेष्ठले महान्यायाधिवक्ताको कार्यालयमा पत्र पठाउँदै सो माग गरेकी हुन्। उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले जेठ १४ गते कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा आलमलाई सफाइ दिएको थियो। यसअघि रौतहट जिल्ला अदालतले भने आलमसहित चार जनालाई दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालतको फैसलापछि आलम ललितपुरको नख्खु कारागारबाट रिहा भइसकेका छन्।

आलममाथि २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा जलाएको आरोप छ। तर, उच्च अदालतले आफ्नो फैसलाको पूर्णपाठमा उक्त घटना नै भएको भन्ने यकिन नभएको उल्लेख गरेको छ। रास्वपाको यो मागले उक्त प्रकरणमा कानुनी लडाइँ पुनः चर्कने देखिएको छ।


सम्बन्धित समाचार