
१६ असार,वीरगञ्ज । सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २४औं वार्षिकोत्सव पर्सामा विविध सामाजिक कार्यक्रमहरू आयोजना गरी मनाएको छ । मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको संयोजकत्वमा दुई दिने कार्यक्रमहरू सम्पन्न भएका हुन् ।
वार्षिकोत्सवको अवसरमा आज मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघका सदस्यहरूले जिल्ला रेडक्रस सोसाइटी पर्सासँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण हेडक्वार्टर पर्सा परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ४० जनाले रक्तदान गरेका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए । वीरगञ्जमा बढ्दो गर्मीका कारण बिरामीको संख्या दिनानुदिन बढ्दै गएको र रगतको अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान, सामाजिक अभियन्ता दिलीप कार्की, इनोभेटिभ संस्थाका अध्यक्ष कमल चौगाई, लायन्स क्लब अफ वीरगञ्जका अध्यक्ष डीएन अग्रवाल लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी महिला संघको बार्षिकोत्वको अवसरमा पहिलो दिन हिजो सशस्त्र प्रहरी गणबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४, आवासक्षेत्र स्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले बताए ।