
१७ असार, काठमाडौं । प्रहरीले १ करोड ५७ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी सबिन महर्जनलाई पक्राउ गरेको छ।
काठमाडौं, तार्केश्वर बस्ने ३६ वर्षीय महर्जनलाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ पुर्जी जारी भएको थियो। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले महर्जनलाई पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। महर्जनविरुद्ध हाल ९ लाख ८० हजार रुपैयाँ बिगो बाँकी रहेको प्रहरीले बताएको छ।
पटक–पटकको कसुर
अनुसन्धानका क्रममा महर्जनविरुद्ध यसअघि पनि दुई वटा बैंकिङ कसुरका मुद्दा दर्ता भइसकेको खुलेको छ । २०८१ असोज ९ गते प्रहरी वृत्त थानकोट, काठमाडौंमा १ करोड ५० लाख रुपैयाँ बराबरको बैंकिङ कसुर गरेको मुद्दा दर्ता भएको थियो। २०८१ कात्तिक २७ गते प्रहरी वृत्त बालाजु, काठमाडौंमा ७ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो।