Logo

१९ असार,काठमाडौं । यस वर्ष नेपालमा ६० हजारभन्दा बढी मानिसमा डेंगु संक्रमण हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आँकलन गरेको छ। महाशाखाले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस बारे जानकारी गराउँदै उच्च सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेंगु फैलने समय आइसकेकोले जुनसुकै बेला र जुनसुकै ठाउँमा पनि डेंगु संक्रमण तीव्र गतिमा फैलन सक्ने हुँदा सचेत रहन आग्रह गर्नुभयो। उहाँका अनुसार, साउनदेखि कात्तिक अन्तिमसम्म डेंगु संक्रमण अत्यधिक बढ्ने उच्च जोखिम रहेको छ।

हालसम्म ७३ जिल्लाबाट करिब १ हजार ६ सयमा डेंगु संक्रमण पुष्टि भएको डा. दाहालले बताउनुभयो। यद्यपि, बिरामीमा लक्षण नदेखिने, डेंगु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने जस्ता कारणले गर्दा वास्तविक तथ्यांक कम देखिएको उहाँको भनाइ छ।

महाशाखाले डेंगु संक्रमण बढ्ने अनुमान गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको पनि जानकारी दिएको छ। डेंगु नियन्त्रणका लागि स्थानीय तहको सबैभन्दा ठूलो भूमिका हुने उल्लेख गर्दै, स्थानीय तहहरूसँग पनि आवश्यक समन्वय र सहकार्य भइरहेको डा. दाहालले बताए ।

 


सम्बन्धित समाचार