Logo

२२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उत्पन्न किचलो मत्थर हुन सकेको छैन।

सर्वोच्च अदालतले ताला खोल्न आदेश दिएपछि आंशिक प्राध्यापकहरूले शुक्रबार ताला खोले पनि, नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने त्रिविका पदाधिकारीहरूलाई प्रवेशमा रोक लगाएको छ। त्रिविमा लामो समयदेखि लागेको ताला खोल्न सर्वोच्च अदालतले गत बुधबार गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा अन्तरिम आदेश जारी गरेको थियो। सोही आदेशपछि शुक्रबार बिहान आंशिक प्राध्यापक, नेविसंघ निकट विद्यार्थी र अखिल क्रान्तिकारीले आफैं लगाएका ताला खोलेका थिए।

तर, ताला खुलेको केही समयमै अखिल क्रान्तिकारीले त्रिविका उपकुलपतिसहितका पदाधिकारीहरूलाई विश्वविद्यालय परिसरमा प्रवेश गर्न नदिने घोषणा गरेको छ। अखिल क्रान्तिकारी त्रिविका कार्यवाहक अध्यक्ष शिवराज भट्टले एक विज्ञप्ति जारी गर्दै आफ्ना मागहरू पूरा नभएसम्म पदाधिकारीहरूलाई प्रवेश निषेध जारी रहने जनाएका छन्।

यसले त्रिविभित्रको शैक्षिक र प्रशासनिक गतिरोध अझै लम्बिने संकेत गरेको छ। विद्यार्थी संगठनको यो कदमले विश्वविद्यालयको दैनिक कामकाजमा थप असर पर्ने देखिन्छ।


सम्बन्धित समाचार