
२२ असार, काठमाडौं । करिब १३ वर्षअघि भएको बम विस्फोटका प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमारले आफूमाथि भएको अन्याय र पीडा सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलम जोडिएको उक्त घटनामा उच्च अदालतबाट आलमले सफाइ पाएपछि यो विषय फेरि चर्चामा आएको हो । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर फरहदवामा बम विस्फोट भएको थियो ।
गौरीशंकरको पीडादायी बयान
भारतको बिहार, सीतामढीका ४३ वर्षीय गौरीशंकरले रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा आफू कसरी घाइते भए र त्यसपछिको जीवन कस्तो भयो भन्नेबारे बयान दिए। उनी आलमको ‘राजा इँटा भट्टा’ मा काम गर्थे। घटना भएको दिन उनलाई पैसा लिन आलमको घरमा बोलाइएको थियो।
‘घरको ढोकाको छेउमा पुगेको बम पड्कियो। आगो लागेपछि म भागेँ’ गौरीशंकरले सुनाए। बम विस्फोटले उनका दुवै कान उडाइदियो र अनुहार, घाँटी तथा छातीमा गम्भीर चोट लाग्यो। बेहोस भएका उनी सीधा सीतामढीको अस्पतालमा मात्र होस आयो। उनले आफ्नो उपचार तीन महिना भएको र उक्त समयमा साढे ३ लाख आईसी खर्च भएको सुनाए । उनले भने अफ्ताबले एकचोटी पनि सोधेन ‘मान्छे कस्तो छ, के छ? एक रुपैयाँ पनि दिएन भन्दै उनले गुनासो गरे।
‘बम पड्किएको छ, मलाई बम लागेको छ’
उच्च अदालत वीरगन्ज इजलासले आलमलाई सफाइ दिँदै ‘बम पड्किएको पुष्टि हुन नसकेको’ उल्लेख गरे पनि गौरीशंकर भने बम पड्किएकोमा अडिग छन्। ‘त्यहाँ बम विस्फोट भएको छ, मलाई बम लागेको छ। अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु।’
उनले बम विस्फोटको घटना निर्वाचनको अघिल्लो साँझ आलमको काकाको घरमा भएको र आफूलाई गाउँलेहरूले नै भारतसम्म पुर्याएको बताए। दुई जना गाउँका मानिसहरू पनि जलेको र अरू कति घाइते भए, त्यो आफूलाई थाहा नभएको उनले बताए।
धम्की र त्रासको जीवन
गौरीशंकरले प्रहरी चौकीमा बयान दिएपछि आलमका मानिसहरूले आफ्नो घरमा गएर आमालाई ‘तिम्रो छोरा त गयो (मर्यो) अब, तिम्रो छोरा दुई÷चार साल बितेपछि बाँच्दैन’ भन्दै धम्की दिएको बताए।
आफ्ताब आलम छुटेकोमा आफूलाई असाध्यै दुःख लागेको र आफूलाई मार्ने धम्कीका कारण डर र त्रासले बाँच्न कठिन भएको उनले आँसु झार्दै बताए। ‘मेरो शारीरिक अवस्था नाजुक छ। काम पनि भेटिँदैन, काम गर्न पनि सक्दिनँ। म मर्ने कि बाँचने, मैले केही पनि देखिनँ। कसरी बाँचौँ म यो दुनियाँमा,’ पीडा पोख्दै उनले भने।
यो घटनाले न्यायको खोजीमा रहेका एक पीडितको पीडा र देशको न्यायिक प्रक्रियामाथि प्रश्नचिह्न खडा गरेको छ।