२० साउन, रौतहट । बागमती नदीमा पानीको बहाव तीव्र रुपमा बढेपछि रौतहट जिल्लाका तटीय बस्तीहरू उच्च जोखिममा परेका छन् । सुक्खाग्रस्त मानिएको रौतहटमा आइतबार र सोमबार परेको निरन्तर वर्षापछि नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालयले जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरेको छ।
अनुगमन टोलीको नेतृत्व जिल्ला प्रशासन कार्यालय रौतहटका निमित्त प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीले गरेका थिए । टोलीमा राजदेवी नगरपालिकाका प्रमुख भिखारी प्रसाद यादव, माधव नारायण नगरपालिकाका प्रमुख बैजनाथ प्रसाद यादव, सुरक्षा निकायका प्रमुखहरू, बागमती तथा लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका इन्जिनियर तेजनारायण यादव तथा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका पदाधिकारीहरू सहभागी थिए ।
राजदेवी नगरपालिका, दुर्गा भगवती गाउँपालिका र माधव नारायण नगरपालिकाका केही क्षेत्रहरू हरेक वर्ष बाढीको उच्च जोखिममा पर्दै आएका छन् । विशेषगरी राजदेवी नगरपालिका – ३ चनडिहा र माधव नारायण नगरपालिका–९ गढो भगवानपुर अहिले पनि सबैभन्दा बढी संवेदनशील स्थानका रूपमा चिनिएका छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी तिवारीले बाढीको बहाव बढ्दै गएमा बस्तीमा पानी पस्ने खतरा देखिएकाले तात्कालिक रूपमा कटान भइरहेको स्थानमा बाँध मर्मत गर्न निर्देशन दिएको जानकारी दिए ।
तिवारीका अनुसार जनताको जीउधनको सुरक्षा पहिलो प्राथमिकता भएकाले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र स्थानीय तहका संयन्त्रसहित पाँचवटै सुरक्षा निकायलाई २४ घण्टा सतर्क र तयारी अवस्थामा राखिएको छ ।
नदी नियन्त्रणका लागि अघिल्ला वर्षहरूमा गरिएको ठेक्का सम्झौता अनुसारका अधुरा कामहरू छिटो सम्पन्न गर्न ठेकेदारलाई तत्काल निर्देशन दिइएको छ ।
स्थानीय तह, प्राविधिक निकाय र सुरक्षा निकायको संयुक्त प्रयासमा जोखिम न्यूनीकरण र आपतकालीन तयारीलाई प्राथमिकता दिइएको बताइएको छ । नदी कटानका जोखिमका बीच स्थानीय प्रशासनले जनतालाई सचेत रहन पनि आग्रह गरेको छ ।

















