२३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय, बनस्थलीमा बस्दैछ।
प्रवक्ता मनिष झाका अनुसार, बैठकमा समसामयिक राजनीतिक मुद्दा र पार्टीका आन्तरिक विषय गरी १३ वटा एजेन्डामाथि छलफल हुनेछ। बैठकमा विशेषगरी केन्द्रीय विभागहरूको प्रगति समीक्षा, संसदीय दलको रूपन्देही बैठकको प्रतिवेदन र उपनिर्वाचनको अवस्थाबारे छलफल हुनेछ। यसका साथै, प्रदेश इन्चार्जहरूले आफ्नो प्रदेशको रणनीति पेस गर्नेछन्।
पार्टीको सङ्गठनलाई थप मजबुत बनाउनका लागि केन्द्रीय विभाग प्रमुखहरूको मनोनयन, पूर्वकेन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्ताव र सङ्गठन सवलीकरणका नयाँ योजनाहरू पनि छलफलको प्राथमिकतामा छन् । यसैगरी, पार्टीको विधान व्याख्या अनुमोदन, निर्वाचन आयोगमा मनोनयन र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराउनेजस्ता महत्त्वपूर्ण कानुनी र नीतिगत विषयहरूमा पनि निर्णय लिइनेछ।
सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको प्रगति समीक्षा गरिनुका साथै त्यसलाई थप प्रभावकारी बनाउनेबारे पनि रणनीति तय गरिनेछ। यसबाहेक, मधेश प्रदेश सहमहामन्त्रीको सिफारिस र सांसदहरूको लेबीसम्बन्धी विषयमा पनि निर्णय गरिने जनाइएको छ।

















