२४ साउन,सुदूरपश्चिम। कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी एक कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, झडपका क्रममा धनगढी-४ का भरत चौधरीको मृत्यु भएको हो। गम्भीर घाइते भएका गोदावरी नगरपालिका-२ का आयुश भट्टलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको छ। अन्य घाइतेहरूको उपचार धनगढीमै भइरहेको छ।
झडपपछि शनिबार पनि कारागारभित्रको अवस्था असामान्य बनेको थियो। कैदीहरूले केही समय कारागारमाथि नियन्त्रण लिएका थिए, जसलाई सामान्य बनाउन प्रहरीलाई निकै हम्मे-हम्मे परेको थियो।
घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
यसैबीच, गृहमन्त्री रशेम लेखकले पनि घटनाबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















