२५ साउन, जनकपुरधाम । जनकपुरधाममा रेलले कारलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । आइतबार बिहान करिब ८:३० बजे जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापाचोक नजिकको रेलवे क्रसिङमा दुर्घटना भएको हो ।
महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलले बागमती प्रदेश ०१-०२५ च १२९० नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। कार पूर्णरूपमा क्षतिग्रस्त भए पनि घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।
प्रत्यक्षदर्शीका अनुसार चालकले रेल आइरहेको संकेत पाउन नसकेर रेलवे ट्र्याक क्रस गर्न खोज्दा दुर्घटना भएको हो । दुर्घटना स्थलमा कुनै गेट, बुम बेरियर वा चेतावनी दिने उपकरण नहुँदा यस्ता घटना दोहोरिन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

















