२६ साउन, काठमाडौं । सरकार फेरबदलका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा ओलीले सरकारको कामलाई थप प्रभावकारी बनाउन केही मन्त्रीहरू हेरफेर गर्ने प्रस्ताव राखेका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले कार्यसम्पादन सन्तोषजनक नभएका र विवादमा परेका मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न चाहेको बताएका थिए । ‘सरकार बनेको एक वर्ष पुगिसक्यो, केही मन्त्रीको काम राम्रो छैन,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘नयाँलाई अवसर दिऊँ र पुरानालाई बिदा गरौँ।’
ओलीको यो प्रस्तावमा कांग्रेस सभापति देउवाले भने असहमति जनाए । उनले आफ्नो पार्टीभित्र मन्त्रीहरूको समीकरण मिलाउन गाह्रो भएको र अहिले मन्त्री फेर्दा फेरि विवाद निम्तिन सक्ने बताएका थिए । ‘मैले पार्टीभित्र बल्लतल्ल मिलाएको थिएँ, त्यही पनि विवाद भयो,’ देउवाले भने, ‘तपाईंले आफ्ना मन्त्री फेर्नुस्, हाम्रालाई यथावत् छोडिदिनुस्।’
अहिलेसम्म एमालेले दुई मन्त्रीहरूलाई परिवर्तन गरिसकेको छ । यसअघि शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईको स्थानमा रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको स्थानमा भगवती न्यौपानेलाई नियुक्त गरिएको थियो । तर, कांग्रेसले भने अहिलेसम्म कुनै मन्त्री फेरेको छैन ।
मन्त्री फेरबदलका साथै भेटमा भूमि विधेयक, संवैधानिक परिषद् र संघीय निजामती कर्मचारी विधेयकबारे पनि छलफल भएको थियो । यद्यपि, कुनै पनि विषयमा ठोस निर्णय भने हुन सकेन।

















