२५ भदौ, काठमाडौं । नेपालमा बढ्दो अशान्ति र हिंसात्मक घटनापछि शान्ति सुव्यवस्था कायम गर्न देशभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको छ।
अराजक गतिविधि नियन्त्रण गर्न नेपाली सेनाले आज भदौ २५ साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भोलि भोली २६ गते बिहान ६ बजेसम्म कर्फ्यु लागू गर्ने घोषणा गरेको छ।
किन लगाइयो कर्फ्यु र निषेधाज्ञा?
नेपाली सेनाले आन्दोलनको आडमा केही आपराधिक समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट र हिंसाजस्ता गतिविधि गरिरहेकोले यो कदम चालिएको बताएको छ। सेनाले यस्ता कार्यलाई दण्डनीय अपराध मानेको छ र संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ। यसले सर्वसाधारणको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको सेनाको भनाइ छ।
कसलाई दिइएको छ छुट?
निषेधाज्ञा र कर्फ्युका समयमा केही अत्यावश्यक सेवालाई भने छुट दिइएको छ। एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनहरू सञ्चालन गर्न पाउनेछन् । यदि कुनै नागरिकलाई आकस्मिक सहयोग चाहिएमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ।
अफवाहबाट टाढा रहन आग्रह
सेनाले आम नागरिकलाई सामाजिक सञ्जाल र अन्य माध्यममा फैलिने अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। आधिकारिक सूचना मात्रै हेर्न र राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राख्न सबैलाई आफ्नो दायित्व पूरा गर्न अपिल पनि गरिएको छ।
यस विषम परिस्थितिमा नेपाली सेना जनताको सुरक्षा र मानवीय उद्धारका लागि सधैँ प्रतिबद्ध रहने विश्वास दिलाएको छ।

















