२७ भदौ, काठमाडौं । लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य भएको छ। आन्दोलनरत जेन-जी युवाहरूको माग अनुसार, प्रतिनिधिसभा विघटन गरेरै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ।
शुक्रबार बिहानैदेखि शीतल निवासमा भएको छलफलपछि यो निर्णयमा पुगिएको हो। सहमतिको जानकारी दिँदै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आजै राति ९ बजे कार्कीको शपथग्रहण हुने बताएका छन्।
प्रधानमन्त्रीको नियुक्तिमा भइरहेको ढिलाइको मुख्य कारण संसद विघटनको विषय बनेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि मात्र पहिलो मन्त्रिपरिषद बैठकबाट संसद विघटन र निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएका थिए। तर, जेन-जीका प्रतिनिधिहरूले भने संसद विघटन भएपछि मात्र अन्तरिम सरकार गठन हुनुपर्ने अडान राखेका थिए।
अन्ततः जेन-जीकै अडानअनुसार संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो। यसले मुलुकलाई नयाँ निर्वाचनको बाटोमा लैजाने अपेक्षा गरिएको छ।

















