२८ भदौ,काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। शनिबार मणिपुरबाट सम्बोधन गर्दै मोदीले नेपालमा देखिएको लोकतान्त्रिक भावना र युवाहरूको सकारात्मक पहलको पनि खुलेर प्रशंसा गरेका छन्।
सुशीला कार्कीलाई बधाई र महिला सशक्तिकरणको उदाहरण
मोदीले नेपाललाई भारतको घनिष्ठ मित्र र साझा इतिहास तथा आस्थाले जोडिएको देशको रूपमा सम्बोधन गरे। उनले १४० करोड भारतीयको तर्फबाट सुशीला कार्कीलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै उनको नेतृत्वमा नेपालमा शान्ति, स्थिरता र समृद्धि आउने विश्वास व्यक्त गरे।
सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नुलाई मोदीले महिला सशक्तिकरणको उत्कृष्ट उदाहरण मानेका छन्। उनले अस्थिरताका बाबजुद पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोपरी राखेकोमा सम्पूर्ण नेपाली जनताको प्रशंसा पनि गरे।
जेनजीको प्रशंसा: सडक सफाई र नयाँ सोचको संकेत
मोदीले नेपालका युवाहरूले सडक सफा गर्ने र रङ लगाउने काम गरेकोमा विशेष चासो देखाए। उनले सामाजिक सञ्जालमा ती तस्बिरहरू देखेको बताउँदै युवाहरूको यो सकारात्मक सोच र कडा परिश्रम प्रेरणादायी रहेको बताए।
उनका अनुसार, युवाहरूको यो कामले नेपालको नयाँ उदयको स्पष्ट संकेत दिएको छ। मोदीले नेपालको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दै युवाहरूको प्रयासको सराहना गरे।
यस्तो छ मोदीको सम्बोधनः
साथीहरू, आज मणिपुरको यो भूमिबाट म नेपालका मेरा साथीहरूसँग पनि कुरा गर्नेछु। हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो। हामी साझा इतिहासद्वारा जोडिएका छौं , आस्थाद्वारा जोडिएका छौं र सँगै मिलेर अगाडि बढिरहेका छौं।
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु। उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो। म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो।
साथीहरू, नेपालमा भएको घटनाक्रममा अर्को एक विशेष कुरा छ जसमा मानिसहरूले ध्यान दिएका छैनन्। पछिल्ला दुई/तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन्। मैले सोशल मीडियामा उनीहरूको तस्बिरहरू पनि देखेको छु। उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।

















