८ असोज, वीरगञ्ज। चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विरगंज महानगर क्षेत्रभित्र सडकछेउमा अनधिकृत रूपमा सञ्चालित मिठाई तथा जेरीका पसलहरूमा कडाइ गरिएको छ।
दशैं र तिहारको मेला–पर्वमा बढ्ने भीडलाई लक्षित गरी फुटपाथ तथा मेनरोड आसपास सञ्चालनमा रहेका खाद्यान्नका अवैध पसलहरूमा जिल्ला प्रशासन कार्यालय पर्सा, विरगंज महानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च पर्सा तथा विरगंज उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागितामा संयुक्त अनुगमन गरिएको हो।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयका तर्फबाट प्रतिनिधि सोनु साह कानु, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल, महानगरपालिकाबाट विभा मिश्र, तथा उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास सहभागी थिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार स्वास्थ्य मापदण्डविपरीत सडक किनारमा मिठाई, जेरी, पकौडीजस्ता खाद्यवस्तुहरू बनाइने, खुला स्थानमा बिक्री गरिने, सरसफाइको ख्याल नगरी खाद्यवस्तु उपभोगमा ल्याइने कार्यले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने खतरा देखिएको छ।


















