Logo

प्रतिकात्मक चित्र

११ असोज,सर्लाही  । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई युवाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पर्साबाट भेल्हीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट (एमएच ०४ डीजे १२९७) भएको स्कारपियो गाडी र विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक ब्रह्मपुरी–२ निवासी २३ वर्षीय अंकित चौधरी र २५ वर्षीय रोहित सहनीको ज्यान गएको छ। सहनीको घटनास्थल नजिकैको अस्पतालमा उपचारको क्रममा राति १०:२० बजे मृत्यु भएको हो भने चौधरीको जनकपुरस्थित राम जानकी अस्पतालमा राति ११:४५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलको पछाडि सवार २३ वर्षीय शिवशंकर पण्डित गम्भीर घाइते भएका छन्। उनको हात र खुट्टामा चोट लागेकाले थप उपचारका लागि बाराको एलएस न्युरो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्कारपियो गाडी चालक फरार भएका छन् भने दुबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीले जानकारी दिए।


सम्बन्धित समाचार