१३ असोज,टोरी । पर्साको ठोरी गाउँपालिका–५, सुवर्णपुरमा एक ७३ वर्षीय वृद्धको शव सडेगलेको अवस्थामा फेला परेको छ। विगत असोज ९ गते (विहीबार) देखि हराइरहेका निरे लोप्चनको शव सुवर्णपुर आठघरे नजिकैको खोल्सामा आइतवार साँझ फेला परेको हो।
वृद्ध लोप्चन उक्त दिन बिहान करिब ११ बजे सुवर्णपुर चोक जाने भन्दै घरबाट निस्किए पनि घर नफर्किएपछि परिवार तथा स्थानीयवासीले व्यापक खोजी अभियान सञ्चालन गरेका थिए। सम्भावित स्थानहरू, पर्सा राष्ट्रिय निकुञ्जको किनार क्षेत्र तथा भारतको सिमावर्ती क्षेत्रसम्म खोजी गरिएको वडाध्यक्ष अस्ट बहादुर लोप्चनले जानकारी दिनुभयो।
उहाँका अनुसार करिब एक वर्षअघि सोही खोल्सामा बाघको आक्रमणबाट एक स्थानीयको ज्यान गएको घटना स्मरणीय रहेकाले गाउँलेहरूले समन्वय गरी आइतवारदेखि सो खोल्सा क्षेत्र केन्द्रित खोजी अभियान चलाएका थिए।
खोजीको क्रममा सोमबार बिहान वृद्ध लोप्चनको शव सडेगलेको अवस्थामा फेला परेको हो। वडाध्यक्ष लोप्चनले शवको अनुहार, घाँटी लगायतका भागको मासु लुछिएको अवस्थाका कारण जङ्गली जनावरको आक्रमणबाट ज्यान गएको आशंका व्यक्त गर्नुभयो।
घटनास्थलमा नेपाल प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले स्थलगत अनुसन्धान गरिरहेका छन्। घटनाको वास्तविक कारण भने विस्तृत अनुसन्धानपछिमात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।
शवलाई पोष्टमार्टमका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ।

















