१३ असोज, चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला पुल नजिक पुनः ठूलो पहिरो खस्दा सडक दुईतर्फी रूपमा पुनः अवरुद्ध भएको छ। दशैंको मुखमा घर फर्किने यात्रुहरू पहिरोका कारण बाटोमै अलपत्र परेका छन्।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, आइतबार मध्यान्ह १२ बजेदेखि सो स्थानमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। पहिरो झर्ने क्रम अहिले पनि जारी रहेकोले तत्कालै पहिरो पन्छाउने काम थाल्न नसकिने जनाइएको छ।
डिभिजन कार्यालयले पहिरो पन्छाउनका लागि भारी उपकरणहरू तैनाथ अवस्थामा राखिएको जानकारी दिएको छ। तर, लगातार झरिरहेकै पहिरोका कारण मानव र उपकरण सुरक्षालाई ध्यानमा राख्दै पहिरो रोकिएपछि मात्रै काम सुरु गरिने भएको छ।
यही ठाउँमा अघिल्लो सातासमेत पहिरो खसेको थियो, जसलाई हटाउन ४५ घण्टा लागेको थियो। सोही कारण यो क्षेत्रलाई उच्च जोखिमयुक्त पहिरो क्षेत्र मानिँदै आएको छ।
दशैं मनाउन पश्चिमतर्फ गइरहेका यात्रुहरू र सार्वजनिक तथा निजी सवारी साधनहरू मुग्लिन सडकअण्ड क्षेत्रमै लामबद्ध हुन थालेका छन्। पहिरोका कारण सयौं यात्रुहरू अलपत्र परेका छन् भने सवारी जाम बढ्दै गएको छ।
यात्रुहरूको चाप र जोखिमलाई मध्यनजर गर्दै ट्राफिक तथा सुरक्षा निकायहरूले यात्रुहरूलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न समेत आग्रह गरेका छन्। तर, पहिरो हटेपछि मात्रै सवारी सुचारु हुन सक्ने स्पष्ट गरिएको छ।














